सिरहा - पूर्व–पश्चिम हुलाकी सडक खण्डमा अलपत्र अवस्थामा रहेको कमला पुलको अवस्थाबारे प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षण गराउन सिराहा नगरपालिका– ६ बसबिट्टाका जनप्रतिनिधि र स्थानीय युवाहरूले कालो झन्डा प्रदर्शन गरेका छन्।
सिराहा– ६ का वडाध्यक्ष इन्द्रजित यादवको नेतृत्वमा स्थानीय युवाले कमला पुल पुनर्निर्माणको माग गर्दै मंगलबार दिउँसो कालो झन्डा प्रदर्शन गरेका हुन्। यादवले सत्तारूढ दल नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले करिब ६ वर्षअघि गरेको प्रतिबद्धता स्मरण गराउँदै पुनर्निर्माणको काम छिटो सिध्याउन कालो झन्डा प्रदर्शन गरेको बताए।
‘हेलिकाेप्टर चढेर सिराहा आउने प्रधानमन्त्री ओलीले कालो झँडा त देख्दैनन्, तर उनका पार्टीका नेता–कार्यकर्ता कार्यक्रममा सहभागी हुन जाने भएकाले सांकेतिक विरोधस्वरूप दबाबका लागि कालो झन्डा देखाइएको हो,’ सिराहा– ६ बसबिट्टाका वडाध्यक्ष इन्द्रजित यादवले भने। प्रधानमन्त्री ओली मंगलबार दिउँसो एमालेको ११औँ जिल्ला अधिवेशन उद्घाटन गर्न सिारहा आएका छन्।
गत फागुनको तेस्रो हप्ता तराई–मधेश जागरण अभियान हुलाकी सडक हुँदै धनुषा प्रवेश गर्ने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि स्थानीय युवाहरूले कमला पुल मन्त्री, सांसद र नेताहरूको भाषण गर्ने विषय मात्र बनेको गुनासो गरेका थिए। सत्ताबाहिर रहुन्जेल जोडतोडले कुरा गर्ने, तर सत्तामा पुगेपछि बिर्सिने नेताहरूको रवैयाले स्थानीय जनताले सास्ती भोगिरहेको गुनासो गर्दै उनीहरूले कमला पुलको पुनर्निर्माण सुस्त हुँदा स्थानीय नागरिकले सास्ती झेल्नुपरेको दुःखेसो गरेका थिए।
सिराहाको चन्द्र (प्राविधिक) माविमा १९ माघ ०७५ मा आयोजित सहिद हेमनारायण यादवको स्मृतिलाई सम्बोधन गर्दै तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीले २ वैशाख ०७७ भित्र नै पुलको काम सम्पन्न हुने दाबी गर्दै भनेका थिए, ‘पुलसँगै हुलाकी सडक पनि युद्धस्तरमा बनाइनेछ, मुलुकको कार्यकारी प्रमुख र विभागीय मन्त्रीले कबाेल गरेपछि पुल र सडकका लागि भोको पेटमा अब अनशन बस्नुपर्दैन।सभार- नयाँ पत्रीका

















