काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिई लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउन आग्रह गरेका छन्।
मधेस प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति हुने भएकाले गरिबीका अगाडि अरु अधिकारको कुनै अर्थ नहुने स्पष्ट गर्दै विकास र समृद्धिको यात्रामा मिलेर अघि बढ्न आह्वान गरेका हुन्।
'सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था हाम्रो उपलब्धि हो। यो उपलब्धिलाई केवल राजनीतिक उपलब्धिका मात्रै होइन जनताको सङ्घर्षबाट प्राप्त भएको उपलब्धिका रुपमा लिनुपर्छ। त्यसकारण हाम्रा प्रयासहरू जनताको सेवामा समर्पित हुनुपर्छ। परिपूर्ण लोकतन्त्रका लागि हामीले काम गर्नुपर्छ,' उनले भने, 'जनताले परिवर्तनको उपलब्धि आफ्नो पेट, आफ्नो आङ र सन्ततिको हितमा खोज्छ। त्यसकारण हामीले जनताको जीवनमा लोकतन्त्र दिनुपर्छ। सम्पूर्ण सामाजिक जीवनमा लोकतन्त्र फुलाउनुपर्छ। त्यसका लागि समाजलाई विकास र सुशासनको गतिमा लैजानैपर्छ।
प्रधानमन्त्री ओलीले मधेस प्रदेशको सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव अत्यन्त सुन्दर पक्ष भएको उल्लेख गर्दै यहाँका अनुशासित, चेतनशील तथा विकासप्रेमी नागरिकले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान कायम गर्न पुर्याएको योगदानको उच्च प्रशंसा गरे।
संविधानले प्रदेशलाई स्वायत्तता प्रदान गरेको र यो स्वायत्तताको सही उपयोग गर्न सबैको दायित्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सङ्घ, प्रदेश र स्थानीय तह बिचको समन्वय, नीति निर्माण र विकासका कार्यहरूलाई प्रभावकारी बनाउन प्रदेश सरकारको विशेष भूमिका रहने बताए।
प्रधानमन्त्री ओलीले मधेस प्रदेश सम्भावनानै सम्भावनाहरूको उर्बर भूमि कृषिका लागि उपयुक्त हुने र चुरेक्षेत्र जडिबुटी, जङ्गलदेखि पानीको अपार स्रोत रहेको जनाए। उनले सुनकोसी डाइभर्सन आयोजनाजस्ता कार्यक्रमले मधेसमा सिँचाइ भई राष्ट्रिय उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र यस पहाड तथा तराईबीचको एकताभाव सृजना गर्ने विश्वास व्यक्त गरे।




















