बिरेन्द्र प्रसाद नेपाल
लहान, चैत २५ – सामूहिक प्रयास नेपालले लहानमा सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाइ तथा लागुऔषध नियन्त्रण अभियानपछि अब व्यापार प्रवर्द्धन र संस्कृति संरक्षणलाई प्राथमिकता दिँदै ‘रमाइलो मेला’ आयोजना गर्न लागेको छ। मेलाको सुरुवात चैत २७ देखि वैशाख १० गतेसम्म हुनेछ।
मेलामा महिला उद्यमशीलता, कृषि प्रदर्शनी र सांस्कृतिक कार्यक्रमहरूलाई विशेष प्राथमिकता दिइएको छ। ५० वटा सटालहरु १५ हजारदेखि ३५ हजार रुपैयाँसम्मको भाडामा दिइनेछ। कुल ७५ लाखभन्दा बढी लगानीमा आयोजना गरिने यो मेलाबाट १ करोड रुपैयाँ बराबरको व्यापार हुने अपेक्षा गरिएको आयोजकले बताएका छन्।
सांस्कृतिक कार्यक्रम अन्तर्गत विभिन्न चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ। चैत २७ गते अन्जु कुशवाहा, २९ गते जोगिन्दर पान वाला, वैशाख १ गते प्रीति पासवान, २ गते कमल खत्री, ३ गते ज्योती मगर, ५ गते अनु चौधरी, ७ गते जादुगरको प्रस्तुति तथा ९ गते एलिना चौहानको भव्य कार्यक्रम रहनेछ।
सामूहिक प्रयास नेपालका अध्यक्ष अमित कुमार श्रेष्ठका अनुसार, मेलाबाट भएको आम्दानीबाट लहान वडा नं. ४ मा सामाजिक पूर्वाधार निर्माण कार्य गरिनेछ। मेलामा कलाकारहरूका लागि तुलनात्मक रूपमा बढी पारिश्रमिक खर्चिनुपर्ने भए पनि सामाजिक र आर्थिक योगदानका दृष्टिकोणले कार्यक्रम महत्वपूर्ण हुने विश्वास लिइएको छ।