विनोद मण्डल
लहान - काठमाडौंमा भएको आन्दोलनमा निर्मम र बर्बरतापूर्ण तरिकाले बाहिरबाट गेट लगाई घरमा आगो लगाई पत्रकारलाई हत्या गरिएको विषयलाई लिएर नेपाल पत्रकार महासंघ सिराहा शाखाले र्याली निकाल्दै विरोध प्रदर्शन गरेका छन ।
पीडितलाई न्याय दिनुपर्ने माग राख्दै लहानको शहीद चौकमा जिल्लाका सम्पूर्ण पत्रकारहरू जम्मा भई व्यानर सहित चर्का नारा लगाउँदै नगर परिक्रमा गरेका हुन ।
समाचार संकलन गर्न पुगेका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकलाई प्रदर्शनकारीहरुले बाहिरबाट गेट लगाई घरमा आगो लगाएपछि जलेर मृत्यु भएको थियो भने विभिन्न सञ्चारमाध्यममाथि आन्दोलनकारीहरुले आक्रमण समेत गरेका थिए ।
देशभर पत्रकारहरु आन्दोलित भएको अवस्थामा सिरहाका पत्रकारहरुले चर्का नारा लगाउँदै "हत्यारा र दोषीलाई कारबाही गर " , "सञ्चारमाध्यममाथि आक्रमण बन्द गर "’, ‘प्रेस स्वतन्त्रता कायम गर ’, ‘पत्रकार कुट्न पाइँदैन’, ‘सम्पूर्ण कलमजीवी पत्रकार एक हौं’ भन्दै नगर परिक्रमा गरेका थिए ।
नगर परिक्रमापछि र्याली कोणसभामा परिणत भएको थियो । विरोध र्यालीमा पत्रकार विनोद मण्डलले टाउकोमा कालो कपडा बेरेर र्यालीमा सहभागी भएका थिए ।
आयोजित र्याली साँझ ४ बजे सुरु भई नगर परिक्रमा गरेर कोण सभामा समापन गरिएको थियो । कार्यक्रममा जिल्लाभरका पत्रकारहरू सहभागी भएका थिए भने न्याय नपाएसम्म आन्दोलन जारी राख्दै पत्रकार महासंघ सिराहा शाखाले हातमा कालोपट्टी बाँधेर विरोध जनाउने घोषणा समेत गरेको छ ।

















