पोर्चुगल । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक एवं सङ्घका पूर्वअध्यक्ष डा. शेष घलेले सङ्घको महाधिवेशन तोकिएकै मितिमा हुने बताएका छन् ।
गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलद्वारा मङ्गलबार राजधानी लिस्बनमा आयोजित बृहत् अन्तरक्रियामा संयोजक घलेले तीन महिना अगावै महाधिवेशनको मिति घोषणा गरिएको उल्लेख गर्दै तोकिएकै मितिमा सङ्घको महाधिवेशन हुने बताएका हुन् । घलले भने, “तोकिएको मितिमा महाधिवेशन हुन्छ, कुनैपनि हालतमा मिति परिवर्तन हुँदैन ।”
उनले नयाँ संरचनासहितको नयाँ एनआरएनए बनाउने अभियानमा लाग्न सबै अभियन्ताहरुलाई आह्वान गरे । आगामी मे महिनामा काठमाडौंमा हुने महाधिवेशनमा सहभागी भइ एकताको महाधिवेशनलाई सफल पार्न घलले आग्रह गरे।
पूर्व अध्यक्ष एवं उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले सहमतिको पालना नगर्दा संस्थाको यो हविगत भएको बताए । उनले सर्वोच्च अदालतको परमादेश पालना गर्नुको विकल्प नरहेको बताए ।
सङ्घका अध्यक्ष राजेन्द्रकुमार शर्माले सङ्घलाई एकताबद्ध बनाउने जिम्मेवारी सबै अभियन्ताहरुको काँधमा आएको उल्लेख गर्दै उक्त जिम्मेवारी मिलेर पूरा गर्नुपर्नेमा जोड दिए।
सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिले आगामी मे ३ देखि ५ मा काठमाडौँमा सङ्घको एकता महाधिवेशनको मिति तय गरिसकेको छ । रासस

















