सिरहा - महायज्ञका नाममा दलित परिवारलाई अछुत भन्दै ज्यादती गरेको घटनामा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ परेपछि यादव परिवारले पीडितलाई धाकधम्की दिएका छन्। अध्यक्ष यादवका छोरा रुकेश यादव शुक्रबार साँझ घरमै पुगेर पीडितलाई धम्क्याएका हुन्।
अध्यक्ष यादव पक्राउ परेपछि रुकेश एक समूह लिएर शुक्रबार साँझ साढे ८ बजेतिर पीडित दीपक मल्लिकको घर पुगेका थिए । रुपेशले पीडित परिवारलाई आफूहरुसँगै सिरहा हिँड्न र जिल्ला प्रहरी कार्यालयमा गएर केही भएको होइन भन्ने बयान दिन भनेका थिए ।
तर, नमानेपछि धाकधम्की दिँदा डरले पीडित परिवार रातभर आफन्तकहाँ गएर शरण लिएर बसेका छन् । दीपक आफैं गाउँकै एक आफन्तकहाँ गएर शरण लिए भने उनकी पत्नी अनिता छिमेकी गाउँ सन्हैठास्थित आफन्तकहाँ गएकी छन् ।
‘अध्यक्षजीको मान्छेहरु आएर सिरहा जान भन्नुभो, नमानेपछि धाकधम्की दिनुभो,’ दीपकले भने, हामी बिलबन्दमा पर्यौं, राति नै घर छाडेर आफन्तकहाँ गएर बस्यौं ।’ उनीहरुका बालबच्चा भने प्रहरीको सुरक्षाबीच घरमै सुते ।

















