सिरहा - सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ लगाइने नाममा दलित परिवारको उठीबास लगाएकामा मधेश प्रदेशसभाका सांसद ललिता दासले आपत्ति जनाएका छन् ।
मधेश प्रदेशसभाको बिहीबार बसेको बैठकमा विष्णु महायज्ञका नाममा दीपक मलिकको घर भत्काएर त्यो परिवारको उठीबास गरिएकोमा प्रदेश सांसद दासले निन्दनीय भन्दै भर्त्सना गरेका छन् ।
सांसद दासले रिंकु सदाको घटना सेलाउन नपाउँदै सिरहामै दलितको घर उजाड पारिएकामा आपत्ति जनाइन् । ‘मानवता हराएको काम गर्ने जनप्रतिनिधिलाई कारबाहीको माग गर्छु,’ उनले भनिन, ‘छानबिन गरी कडा कानुनी उपचार हुनुपर्छ । क्रमबद्ध भइरहेको घटना रोक्न प्रदेश सरकारले कदम चाल्नुपर्छ।
महायज्ञको मण्डप नजिक दलित बस्न र आउजाउ गर्न नमिल्ने भन्दै आयोजक बजरंगी बाबाले मलिकको घर भत्काउन आदेश दिएका थिए । गाउँपालिका अध्यक्ष शिवजी यादवले डोजर पठाएर घर भत्काइएको थियो ।

















