काठमाडौं ।जनमत पार्टी पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले बुझाएको स्पष्टीकरणमा सबै आरोप गलत भएको त्यसलाई प्रमाणसहित पुष्टि गर्न अध्यक्ष राउतलाई चुनौती दिएका छ।
उनले आफूमाथि लगाइएको आरोप नियोजित र पूर्वाग्राही रहेको र आफ्नो राजनीति जीवन विवादमा ल्याउन र बदनाम गराउने उद्देश्यले स्पष्टीकरण सोधिएको दाबी गरेका छन् ।
आफूले फेसबुकमा लेखेको कुरा कुनै व्यक्ति वा पार्टीलक्षित नभएको र निजी विचार रहेको उल्लेख गरे । आफूमाथि लगाएको आर्थिक अनियमिताको विषय निराधार रहेको र त्यसको छानबिन गराई सत्यतथ्य बाहिर ल्याउन उनले आग्रह गरेका छन् ।
आफ्नो व्यक्तिगत कामका लागि विदेशमा बसेको र त्यसले पार्टीलाई कुनै हानि नगरेको, बरु त्यसले फाइदा नै भएको उनको दाबी छ । कोषाध्यक्ष यादवले विदेशमा पनि संगठन बनाएको र अनलाइनमार्फत पार्टीको सम्पर्कमा रहेको पनि स्पष्टीकरणमा राखेका स्रोतले जनाएको छ ।
‘पार्टीका उम्मेदवारलाई हराउन खेलेको भूमिका निराधार हो, गलत हो, पूर्वाग्राही भएर आरोप लगाएको छ, यदि म कसैलाई हराउन कहीँ कतै कुनै कार्य गरेको छ भने त्यसको प्रमाण दिइयोस्,’ उनले स्पष्टीकरणमा भनेका छन्, ‘म जस्तोसुकै सजाय भोग्न तयार छु ।’
अध्यक्ष सीके राउत राउत सार्वजनिक भएपछि काठमाडौँमा कार्यालयको लागि कसैले घर नदिँदाको अवस्थामा अध्यक्ष राउतकै आग्रहमा प्रवासी होटल खोलेको, तर आज त्यसलाई जोडेर नानाथरी आरोप लगाउनु गलत हो भनी उनले आफ्नो स्पष्टीकरणमा भनेका छन् ।
अघिल्लो आइतबार र सोमबार महोत्तरीको बर्दिबासमा केन्द्रीय समितिको बैठक बस्नुअघि अध्यक्ष राउतले उपाध्यक्ष एवं अनुशासन समितिका संयोजक साह र कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई स्पष्टीकरण माग गर्दै निलम्बनसमेत गरेका थिए ।
यादवमाथि पार्टी केन्द्रीय अनुशासन समिति सदस्य सचिव अनिताकुमारी मण्डलले गत फागुन २१ गते विभिन्न आरोप लागेको भन्दै चारबुँदे स्पष्टीकरण सोधेकी थिइन् । यादवमाथि पदीय जिम्मेवारी राम्रोसँग निर्वाह नगरेको, नियमित पार्टी काम छोडेर अमेरिका, कतार र अन्य देश घुम्न गएको पनि आरोप लागेको थियो ।
स्पष्टीकरणको पहिलो बुँदामै यादव पार्टीको केन्द्रीय सचिवालय बैठकमा समेत लगातार महिनौँसम्म अनुपस्थित भएको उल्लेख थियो । नेतृत्वलाई पार्टीको हिसाब नबुझाउने र हरेपटक हिसाब हेरफेर गर्ने गरेको आरो पनि उनीमाथि लगाइएको थियो ।
यस्तै २०७९ सालको निर्वाचनमै पार्टी अध्यक्ष डा. राउतलाई हराउने उद्देश्यले भूमिका खेलेको समेत उनीमाथि गम्भीर आरोप लगाइएको थियो ।
पार्टीले लगानी सेयर तथा लेबीका नाममा करोडौँ रकम उठाएर काठमाडौँको कोटेश्वरमा घर किनेर प्रवासी होटल चलाएको पनि यादवमाथि आरोप लागेको थियो ।
जनकपुरधाममा घर तथा स्कुल सञ्चालनसहित विभिन्न कारोबार गरेको आरोपबारे पनि स्पष्टीकरण सोधिएको थियो ।




















