काठमाडौं । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ ।
सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने जानकारी पर्यटन बोर्डले दिएको छ ।
यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान, र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुऱ्याउने नेपाल पर्यटन बोर्डको विश्वास छ।
पोखरा–छेन्दु उडानले मध्य र पश्चिम नेपालका यात्रुहरूका लागि कम खर्चमा सहज पहुँचका साथै चिनियाँ पर्यटकहरूलाई सुन्दर सहर पोखराको अवलोकनको अवसर प्रदान गर्नेछ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, यो नयाँ हवाई सम्पर्कले चीन सरकारले घोषणा गरेको भिजिट नेपाल २०२५ र नेपाल सरकारले घोषणा गरेको ‘पोखरा पर्यटन वर्ष’ अभियानलाई टेवा पुऱ्याउँदै नेपालमा अन्तर्राष्ट्रिय पर्यटकहरूको आगमन वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।’

















