हेल्प मधेशी साउदी द्वारा होली मिलन समारोह सम्पन्न
जीवन कुमार राम
साउदी, चैत २ - फरक संस्कृति र नियमकानुन भएको देश साउदी अरेबियामा नेपाली समुदायले होली पर्व उल्लासमय रूपमा मनाएको छ। शुक्रबार साउदीको पूर्वी क्षेत्र दम्मामस्थित सिहातमा हेल्प मधेशी साउदी अरब द्वारा आयोजित होली विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।
कार्यक्रममा हेल्प मधेशी साउदी अरब का अध्यक्ष श्याम कुमार महत्तोको अध्यक्षता रहेको थियो भने नेपाली राजदूतावास, रियादका महामहिम राजदूत नरेश बिक्रम ढकाल प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा साउदी अरेबियामा सक्रिय विभिन्न संघ-संस्था, सामाजिक व्यक्तित्वहरू तथा नेपाली समुदायका उल्लेखनीय सदस्यहरूको उपस्थिति रहेको थियो।
होलीको शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि महामहिम ढकालले नेपाली समुदायलाई एकताबद्ध रहन आग्रह गर्दै आपसी सद्भाव बढाउने पर्वको रूपमा होली मनाउन प्रेरित गर्नुभयो। अध्यक्ष महत्तोले हेल्प मधेशी साउदी अरब को नाम मधेशी भए पनि संस्था सम्पूर्ण नेपाली समुदायको हितमा समर्पित रहेको बताउँदै, विशेष गरी नेपाली श्रमिकहरूको राहात, उद्धार , पासपोर्ट फर्म तथा श्रमसम्बन्धी सहयोगमा संस्थाले उल्लेखनीय भूमिका खेलेको जानकारी गराउनुभयो। आगामी दिनहरूमा पनि संस्थाले निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रमलाई सांगीतिक प्रस्तुति, होली विशेष गीत तथा नृत्यले झन् उत्साहजनक बनाएको थियो। उपस्थित नेपाली समुदायले एकआपसमा रंग लगाएर तथा खुशी साटासाट गर्दै होली पर्वको झल्को गृहनगरमै भएको अनुभूति गरेका थिए।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्