रामएकवाल राम

दोहा :अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारले ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको पावन अवसरमा शुभकामना अदान प्रदान तथा वृहत् ईफतार कार्यक्रम सम्पन्न गरेको छ । 

बुधबार दोहाको गोर्खाली रेस्टुरेन्टको सभाहलमा समाजका कार्यवाहक अध्यक्ष मौलाना नाजिर मिया जनाबको सभापत्तित्व तथा नेपाली राजदूतावास कतारका प्रथम सचिव कृषु क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।

मौलाना गुलाम नबी रजबी जनाबले कुरान पाकको तिलावत वाचनबाट शुभारम्भ गरेको कार्यक्रममा नेपाली राष्ट्रिय गानसँगै औपचारिकता पाएको थियो।धर्म गुरु मौलाना सईद जनाबले रमदान भन्ने बित्तिकै केबल व्रत अनि रोजाको कुरा मात्र नभई सामाजिक, सांस्कृतिक, चालचलन र परापूर्वकालीन निरन्तरता तथा पवित्रताका अभ्यासहरूको समायोजन रहेको उनीहरूले बताएका थिए ।

समाजका संरक्षक मोहम्मद साकिर अलिले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख अतिथी क्षेत्रीले हामी नेपालीहरुले सबै धर्मको एकले अर्काको मान सम्मान, सत्कार गर्ने बताउदै हामी सम्पुर्ण नेपालीहरुको हरेक चाड पर्वमा सबै नेपाली समुदायलाई सधै खुसी देख्न पाईयोस भन्दै सबैमा शुभकामना व्यक्त गरेका थिए।

मौलाना सराफतले कुरानका अनुसार रोजा राख्दा अप्रिय बोली बोल्ने, झुटो बोल्ने, हिंसा गर्ने, गैरसामाजिक कार्य गर्ने, अर्काको अपमान गर्ने र शारीरिक सम्पर्क गर्नेहरूलाई व्रतको फल नमिल्ने उल्लेख गर्दै रोजा राख्ने वर्तालुहरुले इफ्तार (रोजा/ व्रत) खोलेका थिए।

कार्यक्रममा एनआरएनए विभिन्न बैचारिक, धार्मिक दोहामा स्थापित विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु समाजसेवी,बुद्धिजिवी सहित रोजा वर्तालुहरुको बाक्लो उपस्थिति रहेको थियो ।

समाजका संरक्षक करिम बक्स मियाले सहजीकरण गरेको कार्यक्रमलाई समापन गर्दै सभापति मौलाना नाजिर मिया जनाबले ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानमा हामी सम्पुर्ण नेपाली समुदायको भाईचारा माया सद्भाव कायम रहोस भन्ने बताउदै कार्यक्रमको गरिमा बढाईदिनुहुने सम्पुर्णलाई धन्यवाद प्रकट गर्दै समाप्न गरेका थिए।