काठमाडौँ । जनमत पार्टीमा भाँडभैलो भएको छ । सो पार्टीका अध्यक्ष डा.सिके राउतले पार्टीका शीर्ष नेताहरूलाई कारबाही गर्न थालेपछि पार्टीमा विवाद सुरु भएको हो । 

आजदेखि सुरु भएको केन्द्रीय समिति बैठक उपाध्यक्ष ई.दीपक साहले बहिष्कार गरेका छन् । पार्टी अध्यक्ष राउतले उपाध्यक्ष साहलाई पनि कारबाही गरेपछि उनले केन्द्रीय समिति बैठक बहिष्कार गरेका हुन् । 

यद्यपि उनले आफ्नो निजी काम परेकाले बैठकमा नगएको दाबी गरेका छन् । उनले  भने बैठककै लागि महोत्तरी गएको थिएँ तर मेरो विशेष कार्यक्रम भएका कारण म त्यसमा सहभागी हुन पाइन 

तर पार्टीकै एक केन्द्रीय सदस्यका अनुसार दीपकलाई पार्टी अध्यक्षले स्पष्टीकरण सोधेको र अनुशासन समितिको संयोजकबाट हटाइएका कारण उनी असन्तुष्ट थिए र त्यही असन्तुष्टिका कारण बैठक बहिष्कार गरेका हुन् । 

अध्यक्ष राउतलाई सुरुदेखि साथ दिएका नेतालाई कुनै न कुनै रुपमा कारबाही गरेर पार्टीबाट अलग राखेको गुनासो पनि उपाध्यक्ष साहले पार्टीमा राख्दै आएको स्रोतले जनाएको छ । जसले दिनरात खटेर पार्टी बनाए, आज तिनै व्यक्तिहरूको यो पार्टीमा कुनै अस्तित्व छैन ।