महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिका -  १, रामनगरमा आइएमई ग्रुपको लगानीमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गरेका हुन् । 

२ अर्ब रुपैयाँ लगानी रहेको यो उद्योगले अब दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाई कार्यका लागि उपयुक्त गुणस्तरीय कागज औद्योगिक स्तरमा उत्पादन गर्न थालेको छ । उद्योगले पहिलो चरणमा फोटोकपी पेपर र कापी किताबका लागि प्रयोग हुने कागज उत्पादन सुरु गरेको हो । 

शैक्षिक, प्रशासनिक तथा अन्य धेरै क्षेत्रमा उच्च माग रहेको फोटोकपी पेपर र अन्य कागजको उत्पादनले आन्तरिक बजारको माग सम्बोधन गर्नेछ । विद्यालयको पाठ्यपुस्तक छपाई गर्दै आएको जनक शिक्षा सामग्री केन्द्र लगायतलाई समेत स्वदेशी उत्पादन प्रयोगका लागि ढोका खुल्नेछ ।

उद्योग उद्घाटन समारोहलाई सम्बोधन गर्दै आइएमई ग्रूपका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिजको सञ्चालन आइएमई ग्रुपको उत्पादनमूलक क्षेत्रमा औपचारिक प्रवेश मात्र होइन, यो नेपालको औद्योगिक यात्रामै नव जागरणको रूपमा लिएको बताए ।  

अध्यक्ष ढकालले नयाँ उद्योगको सञ्चालन मुलुकको आत्मनिर्भरता, आर्थिक वृद्धि तथा दिगो औद्योगिक विकासप्रतिको प्रतिबद्धताको रूपमा लिन र विकासको राष्ट्रिय आकांक्षामा निजी क्षेत्रले गरेको ‘होस्टेमा हैँसे’को उदाहरण बनेको पनि उल्लेख गरे ।