सिरहा - सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदा घटनाका मुख्य आरोपी रुपेश मण्डलमाथि दुई दिनको म्याद थप भएको छ । सिरहा जिल्ला अदालतबाट प्रहरीले उनीमाथि दुई दिनको म्याद थप गराएको हो ।


अदालतबाट म्याद थप भएपछि उनीमाथि विस्तृत अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए । रुपेश आजै पक्राउ परेका थिए । प्रहरीको विशेष टोलीले बिहान साढे ११ बजेको समयमा सिरहा नगरपालिका १७ स्थित दशगजा क्षेत्रबाट उनलाई पक्राउ गरेको थियो ।


गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकु स्थानीय तीन युवकबाट सामूहिक बलात्कारमा परेकी थिइन् । तर, वडा सदस्यसहितका स्थानीयको संलग्नतामा २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो ।


पञ्चायतीले बलात्कारका पीडकबाट १ लाख ४० हजार जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो । तर, पञ्चायती नमिल्दा पीडक पक्षको धम्कीका बीच ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।