उदयपुर - उदयपुरको वेलका नगरपालिकाका मेयर अशोक कार्कीले  पत्रकार दिनेश शर्मालाई धम्की दिएका छन् ।गाडी दुरुपयोग गरेको विषय फेसबुकमा लेखेको भन्दै मेयर कार्कीले पत्रकार शर्मालाई ‘घरैबाट उठाउने’ धम्की दिएका हुन् ।
नगरप्रमुख कार्कीले बुधबार विहान फोनबाट तँलाई घरबाट उठाउँछु भनी धम्की दिएको पत्रकार शर्माले बताए ।तपाईले मलाई चिन्नु भएको छैन। मैले धेरै ठुला–ठुला मिडियालाई कारवाही गरेको छु,तपाई जहाँ हुनुहुन्छ, त्यहीबाट उठाउँछु।’ भनी मेयर कार्कीले धम्काएको पत्रकार शर्माले जानकारी दिए ।
नगरपालिकाको को १ झ ५३६ सरकारी नम्बरको गाडी दुरुपयोग भएको विषयमा आफ्नो  ‘दिनेश शर्म्मा’ नामको फेसवुक आईडीमा फोटोसहित स्ट्याटस लेखेको विषयमा उनले यसरी धम्की दिएको पत्रकार शर्माले बताए ।
मंगलबार विहान करिव ८ बजे उनकी श्रीमती टीका कट्वाल सब्जी किन्न उदयपुरबाट मेयरको गाडी लिएर सप्तरीको फत्तेपुर पुगेकी थिईन। उनी त्यहाँबाट दुई मुठा रायोको साग, एक पवा अदुवा र कागती किनेर फर्किएकी थिईन। सोही फोटो फेसबुकमा हालेको विषयमा उनले यसरी आक्रोश पोख्दै धम्की दिएको पत्रकार शर्माले  बताए ।
श्रीमतीको नाम जोडेको भन्दै मेयर कार्कीले आपत्ति समेत व्यक्त गरे ।उदयपुरका सीडीओ हरिप्रसाद घिमिरेले सरकारी गाडी प्रयोगको विषयमा हरेक स्थानीय तहलाई सर्कुलर नै जारी गरिएको र गाडी दुरुपयोग भएको विषयमा सवैले आवाज उठाउन पाईने वताए। यद्यपी गाडी दुरुपयोग भएको र ‘उठाउँछु’ भनेको विषयमा आफुले मेयरसँग कुरा गर्ने बताए।
बेलका नगरपालिकाका मेयर कार्कीले फत्तेपुर चौकीमा  बोलाउँदा पत्रकार शर्मा आउन नमानेपछि सम्बन्धित निकायबाट सहयोग लिएर घरबाट उठाउने भनेको स्वीकार गरे । पत्रकारको बचाउँ गर्नुभन्दा प्रहरी चौकी फत्तेपुरका सइ र  पत्रकार शर्मासंग यथार्थ कुरा बुझ्नु भन्दै उनले कसैको व्यक्तिगत चरीत्रमाथी नै ठेस पुग्ने गरि  सामाजिक संजालमा लेख्नु  अशोभनीय भएको टिप्पणी गरे ।
 पत्रकार शर्मालाई ‘घरबाटै उठाउने’ धम्की दिने मेयर कार्की नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । पछिल्लो समय सेवाग्राहीहरुले मेयर कार्कीको कार्यसम्पादनमा प्रश्न उठाउँदै सामाजिक सञ्जालमा मार्फत चर्को आलोचना गरेका छन् ।