काठमाडौं । अमेरिका सरकारको कडा अध्यागमन नीतिअनुसार अवैध रूपमा बसोबास गरिरहेका नेपालीहरूलाई स्वदेश फिर्ता पठाउने क्रम जारी छ । गैरकानूनी रूपमा अमेरिकामा काम गरिरहेका तथा अध्यागमन अदालतबाट निष्कासन आदेश पाएका नेपाली नागरिक बोकेको अमेरिकी विमान काठमाडौंका लागि उडेको छ ।

अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको चार्टर्ड जहाजमार्फत १० जना नेपाली नागरिक स्वदेश फिर्ता हुँदैछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार उक्त विमान काठमाडौं अवतरणका लागि अनुमति दिइएको छ । ग्रिफोन एयरको सानो विमान गल्फजेटस्ट्रिम आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

जहाज अमेरिकाको न्यू ह्याम्पसायर राज्यस्थित पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडिसकेको छ । अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा केही यात्रुहरू ओरालेर सो जहाज नेपालका लागि उड्ने बताइएको छ । त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि यी नेपालीहरूलाई अध्यागमन तथा अन्य आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमार्फत अभिभावकत्वमा जिम्मा लगाइनेछ ।