उमेश कुमार साह
सप्तरी - सप्तरीको बोदे बर्साईन नगरपालिकामा निरन्तर रूपमा भइरहेको वडा नम्बर १ देखि १० सम्म सरसफाइ अभियानमा बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह आफै जुटेका छन्। ‘हाम्रो बोदे बर्साईन हामी बनाउँछौँ’ अभियान अन्तर्गत मंगलबार नगर प्रमुख सिंह वडा नम्बर ४ को सरसफाइमा जुटेका हुन्।
बोदे बर्साईन नगरपालिका स्वास्थ्य शाखाको आयोजना भएको सरसफाइ कार्यक्रममा वडा अध्यक्ष किरण कुमार साह , स्वास्थ्य शाखा संयोजक बैधनाथ साह , नेपाल प्रहरी , सशस्त्र प्रहरी , स्वास्थ्यक्रमी , स्थानीयबासी लगायतका ब्याक्तीले बोदे बर्साईनका विभिन्न ठाउँमा त्यहाँका स्थानीयले स्वस्फूर्त रुपमा उक्त अभियानलाई सघाउने अभिप्रायले सरसफाइ गर्दै आएका छन्। नगरले आगामी आर्थिक वर्ष २०८१/०८२ लाई सरसफाइ वर्षका रुपमा मनाउने नीति लिएको छ।
पछिल्लो समयमा सरसफाइको अभियानलाई प्रभावकारी बनाउन स्थानीयको सक्रियता समेत बढेको छ।
सरसफाई अभियानको अगुवाई गर्दै नगर प्रमुख आतेश कुमार सिंह आफै झाडु बोकेर सडक बढार्दै हिँडेका थिए।
बोदे बर्साईन नगरपालिकाले केही साता सचेतनामूलक सरसफाइ अभियान सञ्चालन गरेर जथाभाबी फोहोर नगर्न आग्रह गर्ने र त्यसपछि पनि अटेर गरेर जथाभावी फोहोर गर्नेलाई कारबाही गर्ने तयारी गरेको छ । जथाभाबी फोहोर गर्नेलाई पाँच सय देखि ५ हजारसम्म जरिबाना गर्न सक्ने कानूनी व्यवस्था ल्याउने प्रयासमा छ । फाल्गुन र चैत महिनाभर सचेतनामूलक सरसफाइ अभियान सञ्चालन गरिने र अटेर गरेर जथाभाबी फोहोर गर्नेलाई बैशाखबाट कानूनी कारबाही गरिने नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बैधनाथ साहले बताए । ‘जथाभाबी फोहोर गर्नेलाई पाँच सय देखि ५ हजारसम्म जरिवाना गराउँन सक्ने कानुनी व्यवस्था भएपनि अहिलेसम्म त्यसमा कडाइ गरिएको थिएन, तर अब बैशाखबाट कडाइ गरिन्छ,’ साहले भने ।बोदे बर्साईन नगरले हालसम्म नगर क्षेत्रका हजारौं सय घरधुरीलाई फोहोर फाल्ने डस्टबिन वितरण गरेको छ । नगरका सार्वजनिक स्थानहरुमा पनि सयांै वटा डस्टबिन राखेर फोहोर संकलन गरी फोहोरमैला व्यवस्थापन केन्द्रमा लगेर फोहोर व्यवस्थापन गर्ने गरिएको छ ।




















