काठमाडौं।ललितपुरको टिकाथलीमा पानीका लागि खनिएको बोरिङबाट आगोको ज्वाला निस्किएको छ।बोरिङको लागि पाइप गाडेको ठाउँमा आगोको ज्वाला दन्किएपछि निभाउने प्रयास भइरहेको प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।
पानी छ्यापेर आगो निभाउने प्रयास भए पनि आगो निभेको छैन। पाइप गाडेकै ठाउँबाट आगोको ज्वाला निस्किएपछि बोरिङ गर्ने काम पनि रोकिएको छ।
करिब ९ सय फिट (तीनसय मिटर) खनिसकेपछि आगोको ज्वाला निस्किएको हो। ‘त्यहाँ माघ अन्तिमबाटै बोरिङ खन्न सुरु भएको रहेछ,’ एसएसपी अधिकारीले भने आज बिहान करिब साढे नौ बजेतिर आगोको ज्वाला दन्किएपछि काम रोकिएको छ।
भूमिगत ग्यासको कारण त्यहाँ आगोको ज्वाला निस्किएको अनुमान गरिएको छ। घटनास्थलमा अहिले ललितपुर महानगरको टोली र प्रहरीको टोली पुगेको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी नरहरी रेग्मीले जानकारी दिए।
आगाकाे ज्वाला निस्किएकाे ठाउँ भन्दा स्थानीयका घर केही पर भएकाले खतरा नरहेकाे प्रहरीले जनाएकाे छ।

















