काठमाडौं । रुपन्देहीमा महिलाको हत्या आरोपमा प्रहरीले एक जनालाई नौं दिनपछि पक्राउ गरेको छ । गत फागुन ८ मा सियारी–१ अन्तर्गत बेथरी बेलबास करिडोरको पूर्वतर्फ गहुँखेतमा महिलाको शव फेला परेको थियो ।
सो घटनामा संलग्न रहेको आरोपमा तिलोत्तमा नगरपालिका–१२ का ४२ वर्षीय अमिरिका थारु (अजय थारु) पक्राउ परेको रुपन्देहीका डीएसपी सुरज कार्कीले बताए । फेला परेको शव दाङ लमही नगरपालिका–७ उच्चलिम्बु बस्ने ४० वर्षीया संगीता चौधरीको रहेको खुलेको उनले जानकारी दिए ।
उनको टाउको र अनुहारमा ढुंगा प्रहार गरी नचिनिने गरी हत्या गरी सडक किनारमा परालको थुप्रोले ढाकेको अवस्थामा शव भेटिएको थियो । प्रहरीले शव फेला परेपछि तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरेको थियो । सोही क्रममा थारूलाई गत १६ गते पक्राउ गरेको प्रहरीले जनाएको छ । दुवै जना सँगसँगै ज्याला मजदुरीको काम गर्थे ।

















