सिराहा - सिराहाकी १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कार र शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले आइतबार सोधपुछ तथा अनुसन्धानका लागि नियन्त्रणमा लिइएकामध्ये पञ्चायतीद्वारा लेनदेन गरी मिलापत्र गराउन संलग्न तीनजनालाई थप अनुसन्धानका लागि सिराहा जिल्ला अदालतले म्याद थप गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले नवराजपुर गाउँपालिका–१ भगवतीपुर गाउँका करिब ८४ वर्षीय चन्देश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल र कमलेशकुमार दासलाई पञ्चायतीद्वारा लेनदेन गरी मिलापत्र गराउन संलग्न रहेको कसुरमा थप अनुसन्धानका लागि पहिलोपटक पाँच दिनको म्याद थप गरिएको बताए । ‘नियन्त्रणमा लिइएकामध्ये एकजना निर्दोष पाइएपछि सोमबार छोडिएको छ,’ उनले भने । प्रहरीले आफ्नो स्रोतसाधनले भ्याएसम्म घटनामा प्रत्यक्ष रूपले संलग्न मुख्य आरोपीहरूलाई पक्राउ गर्ने प्रयास गरिरहेको उनले बताए ।
मधेश प्रदेश प्रहरी कार्यालयबाट गठित छानबिन समितिका संयोजक एसएसपी शान्तिराज कोइरालाले मृतक परिवारले दिएको पूरक जाहेरीका आधारमा आफूहरूसहित स्थानीय प्रहरीले सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको बताए । ‘घटनामा प्रत्यक्ष जोडिएका प्रतिवादी फरार रहेको र पोस्टमार्टमको रिपोर्ट आइसकेको भए पनि बलात्कार भए नभएको यकिन गर्न भेजाइलन स्वाबको रिपोर्ट आइसकेको छैन,’ उनले भने । प्रहरीले शव परीक्षण गर्ने वेलामै यौनजन्य कसुरसम्बन्धी परीक्षणका लागि लेखी पठाइसकेकाले भेजाइनल स्वाब परीक्षणको रिपोर्टसमेत आएपछि यकिन हुने उनले बताए । ‘रिपोर्ट ढिलो हुनुमा केही प्राविधिक विषय, कार्यालयसँग सम्बन्धित कुरा पनि छन्,’ उनले भने, ‘रिपोर्ट प्राप्त भएपछि सार्वजनिक गरौँला ।’ रिंकुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ फागुनमा शव परीक्षण भएको थियो ।
सामूहिक बलात्कार र शंकास्पद मृत्यु प्रकरणमा स्वस्फूर्त रूपमा सामाजिक अभियन्ता, अधिकारवादी संघ–संस्थाहरूले दोषी पक्राउ गरी कानुनी कारबाही र पीडित परिवारलाई न्याय र क्षतिपूर्तिको मागसहित प्रदर्शन गरिरहेका छन् । लहान नगरपालिका–१५ ढोढनाका अध्यक्ष तेजनारायण चौधरी, न्यायिक समिति सदस्य रामकुमारी दास, वडासदस्य विष्णुदेव चौधरीलगायतका जनप्रतिनिधि, स्थानीय दलित समुदायले सोमबार प्रदर्शन गरेका छन् ।

















