राजविराज - सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको न्यायका लागि दबाब स्वरूप आइतबार राजविराजमा खबरदारी प्रदर्शन गरिएको छ ।
नेपाल राम समाजको आयोजना तथा दलित सम्बन्धी विभिन्न संघ–संस्थाको समन्वयमा प्रदर्शन भएको हो ।
पछिल्लो समय दलित समुदायमाथि बलात्कार, हत्या, अपहरण, उठिबास, छुवाछुत र दमन शोषण भइरहेको आरोप लगाउँदै प्रदर्शनकारीहरुले त्यसमा संलगनहरुलाई कडा कारबाहीको माग गरे ।
रिंकुको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनाको सूक्ष्म छानबिन गरी दोषीलाई कारबाही तथा पीडित परिवारलाई न्यायका लागि राज्यपक्ष जिम्मेवार हुनुपर्ने माग समेत उनीहरुले गरे ।
गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकु स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेकी थिइन् ।
सो घटनामा पञ्चायतीले बलात्कारका पीडकबाट १ लाख ४० हजार जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो । तर पञ्चायती नमिल्दा पीडक पक्षको धम्कीका बीच ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

















