सिराहा - मधेसका गृह तथा सञ्चार मन्त्री राजकुमार लेखीले सिरहा नवराजपुरकी रिंकु सदाय मृत्यु प्रकरणका आरोपीहरू छिट्टै पक्राउ पर्ने दाबी गरेका छन।

मन्त्री लेखीले आज बिहान पत्रकार सम्मेलन गरी घटनामा संलग्नहरूलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको र छिट्टै पक्राउ पर्ने दाबी गरे । उनले घटना शंकास्पद देखिएकै कारण धरानमा पोस्टमार्टम गराएको र आज साँझसम्म रिपोर्ट आउने पनि जानकारी दिए।

स्थानीय राजनीतिकर्मीले नै पञ्चायतमार्फत घटना दबाउन, लुकाउन र रकम बार्गेनिङ गर्दा यो घटनामा अन्यौलता बढेको थियो उनले भने जहाँ पनि घटना घट्दा पहिले जानकारी पाउने स्थानीय हो । स्थानीय राजनीतिकर्मी हो ‌। समयमै प्रहरीलाई खबर गरिदिँदा अन्यौलता आउँदैन । तर स्थानीय राजनीतिकर्मी नै घटना लुकाउन भूमिका खेल्नु दुःखद हो ।

घटनाको सहज ढंगले अनुसन्धान अगाडी बढिरहेको भन्दै मन्त्री लेखीले घटनामा संलग्नहरू र रकमको बार्गेनिङ गर्नेहरू विरुद्ध पीडित परिवारले पूरक जाहेरी दिएको बताए । उनले पूरक जाहेरीले अब प्रहरीलाई अनुसन्धान तथा कारबाही गर्न सजिलो भएको सुनाए ।

मृतककी आमा सीतादेवीले बिहीबार इलाका प्रहरी कार्यालय लहानमा कर्तव्य ज्यान, जबरजस्ती करणी, शरीर बन्धक र मिलापत्र लेनदेन कसुरमा पञ्चसहित आठजनाविरुद्ध पूरक जाहेरी दिएकी छन् ।