तिलु शर्मा पौडेल / रामएकवाल राम
दोहा, कतार : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष, पूर्वउपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव कतार आउने भएका छन् । मधेश प्रदेश समन्वय परिषद् कतारले आफ्नो स्थापनाको अवसर पारेर आयोजना गरेको चौथो स्थापना दिवस तथा होली महोत्सव कार्यक्रमलाई सम्बोधन गर्न यादव कतार आउन लागेको आयोजकले जनाएको छ।
मधेश प्रदेशबाट कतारमा रहेका करिब ३२ वटा विभिन्न संघ संस्थाको संयुक्त सहकार्यमा परिषद्ले आफ्नो स्थापना दिवसलाई रङ्गहरूको पर्व फागु पूर्णिमासँग जोड्दै एकसाथ मनाउन लागेको परिषद्का अध्यक्ष नियाज शेखले बताए । कार्यक्रम अगामी फेब्रुअरी २१ तारिक शुक्रबारका दिन कतारको होम सलाल अलिमा हुने भएको छ ।
कार्यक्रममा सहभागी हुन ग्राण्ड मल र अल अलतियाबाट नि:शुल्क रूपमा यातायातको पनि व्यवस्था गरिएको र कार्यक्रमको तयारीलाई अन्तिम चरणमा पुर्याउन तीव्रता दिइएको कार्यक्रम संयोजक शिव कुमार महतोले जानकारी दिए । उनले यस कार्यक्रमले मधेशमा एकता कायम रहेको सन्देश दिने विश्वास व्यक्त गरे ।

















