जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दास र उनका छोरा रामभजन दास गुण्डागर्दीमा उत्रेको आरोप प्रशासकीय अधिकृतले लगाएका छन् । । मेयर र उनका छोराबाटै प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र साह असुरक्षित बनेका हुन् ।
एक शिक्षकलाई हाजिर गराएकै निहुँमा अधिकृत साहलाई मेयरका छोरा रामभजनले कार्यकक्षमै कुटेका थिए । पछि मेयर बेचन पुग्दा गोली मार्ने धम्की दिएको अधिकृत साहले आरोप लगाएका छन् ।
अधिकृत साह मङ्गलवार जिल्ला प्रशासन कार्यालयमा मेयर र उनका छोराविरुद्ध उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । साहले आइतबार प्रमुख जिल्ला अधिकारी रामुराज कडरीया समक्ष उजुरी दिँदै कुटपिट गर्ने मेयरका छोरा र धम्की दिने मेयरलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।अधिकृत साहले आफ्नो सुरक्षाको माग पनि गरेका हुन् । उनले दुई प्रहरी र वडाध्यक्ष राजकिशोर सिंहको उपस्थितिमा मङ्गलवार मेयर दासले गोली हान्ने धम्की दिएको उजुरीमा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘मलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा अर्को व्यवस्था नहुन्जेलसम्म सुरक्षा साथ काम गर्ने वातावरण मिलाउन अनुरोध छ ।’
शिक्षक सेवा आयोगबाट सिफारिस भएकी निमावि सामाजिक शिक्षक पवन कुमारी विदेह नगरपालिका पुगेकी थिइन् । मेयर नगरपालिकामा नरहेको बेला अधिकृत साहले उनलाई हाजिर गराए । सोही विषयलाई लिएर ‘तैँले किन हाजिर गराइस् ?’ भन्दै मेयरका छोराले अधिकृत साहलाई कार्यकक्षमै कुटपिट गरेको बताइएको छ ।
अधिकृत साहले भने, ‘एक शिक्षिकालाई हाजिर गराएकै निहुँमा मेयरका छोराले मलाई कुटपिट गर्यो । मेयर आएपछि प्रहरीकै सामुन्ने गोली मारिदिने धम्की दिनुभयो । म प्रशासनसँग सुरक्षा माग गरेको छु । म परेशानीमा छु, अहिले धेरै बोल्न सक्दिनँ ।’

















