ताप्लेजुङ - ताप्लेजुङमा केबलकार निर्माणको विरोधमा आन्दोलनकारीले गरेको बन्दको प्रभाव पूर्वका जिल्लाहरुमा देखिएको छ ।
आन्दोलनकारीले आह्वान गरेको बन्दका कारण पूर्वपश्चिम राजमार्गबाट उत्तरी जिल्लाहरुमा यातायातका साधन चल्न सकेका छैनन् । साना तथा छोटो दुरीका सवारी साधनहरू भने चलिरहेका छन् ।
झापा, मोरङ, सुनसरी, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, इलाम र पाँचथर जिल्लामा बन्द आह्वान गरिएको थियो । बन्दको सबैभन्दा बढी प्रभाव ताप्लेजुङमा परेको छ । सुनसरीको इटहरी र धरानमा विहानैदेखि आन्दोनकारी सडकमा निस्किएका थिए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार अधिकांश जिल्लामा बन्दको प्रभाव सामान्य रहे पनि केही ठाउँमा बजार र यातायात प्रभावित भएको छ ।




















