रामएकवाल राम

दोहा :- ताप्लेजुङको पाथीभरा क्षेत्रमा नो केवलकार आन्दोलनकारीमाथि प्रहरी प्रशासनले अन्धाधुन्ध गोली प्रहार गरेको विषयमा कतारबाट आठ वटा सङ्गाठनले संयुक्त रुपमा आपत्ति जनाएको छ ।

नेपाली जनप्रगतिशिल मञ्च कतार, प्रवासी नेपाली सम्पर्क विभाग कतार, प्रवासी नेपाली एकता मञ्च कतार,प्रवासी नेपाली एकता समाज कतार,नेपाली समाज कतार, अन्तर्राष्ट्रिय नेपाली समाज, नेपाली जनप्रगतिशील मोर्चा कतार , र संघीय लिम्बुवान सामाजिक मञ्च कतारले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर राज्यले जबर्जस्ती केवलकार निर्माण गरेमा उत्पन्न हुने तनाव र द्वन्द्वको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र निर्माण पक्षले लिनुपर्ने चेतावनी दिइएको छ।

विशेषतः आदिवासी लिम्बु समुदायले यो परियोजनाले धार्मिक स्थलको मौलिकता समाप्त पार्ने भन्दै निरन्तर असहमति जनाउँदै आएका छन्।तर, स्थानीय समुदायसँग बिना सहमति राज्यको आडमा केवलकार निर्माणलाई बल प्रयोग गरी अघि बढाउन खोजिएको भन्दै विभिन्न संघसंस्थाले गम्भीर ध्यानाकर्षण गराएका छन।

गत माघ १२ गते गरेको शान्तिपूर्ण आन्दोलनको क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले अन्धाधुन्ध गोली प्रहार गर्दा दर्जनौं नागरिक घाइते भएका छन्। गम्भीर घाइते हुनेमा याम लिम्बु, सगुन लावती र धर्मान पालुङ्वा रहेका छन्, जसको हाल काठमाडौंमा सघन उपचार भइरहेको छ।यस घटनालाई लिएर विभिन्न प्रवासी नेपाली संघसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमाथि गरिएको दमनको कडा भर्त्सना गरेका छन।

संयुक्त विज्ञप्तिमा निम्न मागहरू अघि सारिएको छ :-

१. शान्तिपूर्ण आन्दोलनमाथिको दमन र गोली प्रहार तत्काल रोक्नुपर्ने।

२. घाइते नागरिकहरूको निशुल्क उपचार र उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने।

३. पवित्र धार्मिक स्थलको मौलिकता जोगाउन केवलकार निर्माण तुरुन्त रोक्नुपर्ने।

४. समस्या समाधानका लागि संवाद र सहमतिको प्रक्रिया अघि बढाइनुपर्ने।

3fd66e3d-027e-4a91-ad71-6766043d01e4