दक्षिण कोरियाको विमानस्थलमा मङ्गलबार राति उडान गर्नुअघि यात्रु विमानमा आगलागी भएको तर जहाजमा रहेका सबै १७६ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको अधिकारीहरूले बताएका छन् ।
दक्षिण कोरियाली एयरलाइन्स एयर बुसानद्वारा सञ्चालित एयरबस विमान हङकङका लागि प्रस्थान गर्ने तयारी गरिरहेको बेला दक्षिणपूर्वको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा यसको पछाडिका भागहरूमा आगलागी भएको यातायात मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।
विमानका १६९ यात्रु, ६ जना चालकदलका सदस्य र एक जना इन्जिनियरलाई एस्केप स्लाइड प्रयोग गरेर बाहिर निकालिएको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय अग्नि नियन्त्रण निकायले जारी गरेको विज्ञप्तिमा उद्धारका क्रममा तीन जना सामान्य घाइते भएको जनाएको छ । अग्नि नियन्त्रण निकायले घटनास्थलमा दमकल र दमकलकर्मीहरू परिचालन गरेको एक घन्टापछि स्थानीय समयानुसार राति ११ः३१ बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको बतायो ।
आगलागीको कारण तत्काल थाहा हुन सकेको छैन । यातायात मन्त्रालयले उक्त विमान ए३२१ मोडेलको रहेको बताएको छ ।

















