सिड्नी - अस्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लू)मा रहेको नेपाली वाणिज्य दूतावासको कार्यालयको उद्घाटन गरिएको छ । अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले कार्यालयको उद्घाटन गरेकी हुन् ।
त्यस क्रममा राजदूत यादवले आफू तन, मन र वचनले नेपाल र नेपालीको सेवामा लागिपर्ने बताइन् । उनले स्थानीय नेपाली समुदायसँगको सहकार्यमा अस्ट्रेलियामा रहेका नेपालीहरूको हकहितका लागि निरन्तर सक्रिय हुने बताइन् ।
“नेपाली समुदायसँगको सहकार्य, समन्वय र कूटनीतिक प्रयासले अस्ट्रेलियामा नेपाली पहिचानलाई थप बलियो बनाउने मेरो प्रयास हुनेछ,” उनले भनिन् ।
उद्घाटन समारोहमा वाणिज्यदूत सञ्जीव शर्माले नयाँ कार्यालयबाट एनएसडब्लू क्षेत्रमा रहेका नेपालीहरूको सेवामा अझ प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाए । शर्माले अस्ट्रेलियामा जन्मिएका नेपाली मूलका नयाँ पुस्तालाई मुलुकसँग जोड्ने आफ्नो प्रयास अगाडि बढेको पनि बताए । कार्यालयले नेपाली डायस्पोराका हकहितका लागि एक नयाँ आयाम थप्ने र समुदायसँग सहकार्य गरेर अगाडि बढ्ने उनको विश्वास थियो ।
कार्यक्रममा पूर्वमहावाणिज्यदूत दीपक खड्काले यो पद आफैँमा महत्त्वपूर्ण भएको बताए । यसलाई अधिकारसम्पन्न बनाएर सहजरूपमा सेवा सुविधा विस्तारमा राज्यले पहलकदमी लिनुपर्ने उनले बताए ।कार्यक्रममा नेपाली कांग्रेसका नेता बलबहादुर केसी तथा विश्व हिन्दु महासंघकी उपाध्यक्ष ज्योत्सना साउँदले नवनियुक्त राजदूतलाई कार्यकालको सफलताको शुभकामना दिए ।
यस्तै, अस्ट्रेलियन नेपाली समुदायका अगुवा नारायण प्रधानले ५० वर्ष अघिको आफ्नो अनुभव साटेका थिए । कार्यक्रममा समुदायका अगुवा विष्णु हमाल, दोस्रो पुस्ताका सम्राट खड्का र आदित्य राउत तथा एनआरएनका अध्यक्ष अनील पोखरेलले शुभकामना दिए ।
यस्तै, एनआरएनका केन्द्रीय उपाध्यक्ष विनोद श्रेष्ठ, ओसेनिया संयोजक दिनेश पोखरेल, आईसीसी सदस्य डिल्ली ढकाल लगायतले कार्यालय पुग्दा नेपाल झल्किने भाव पाइएको बताए । कार्यक्रममा विभिन्न समुदायका नेता, व्यवसायी, पत्रकारका साथै सामाजिक अगुवाहरूको उपस्थिति थियो ।
नयाँ कार्यालय उद्घाटनसँगै वाणिज्य दूतावासले एनएसडब्लू क्षेत्रमा रहेका नेपालीहरूका प्रशासनिक तथा दूतावासीय सेवाहरू थप प्रभावकारी र सहजरूपमा प्रवाह गर्ने विश्वास गरिएको छ ।
सिड्नीको सबैभन्दा व्यस्त मानिने टाउनहलमा खोलिएको कार्यालयभित्र नेपाली मौलिक कला, संस्कृति र परम्परा झल्किने गरी कलात्मक ढंगले सजावट गरिएको छ ।

















