रामएकवाल राम

दोहा - कतारका लागि नेपालका नवनियुक्त राजदूत रमेशचन्द्र पौडेलले एक विशेष समारोहमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन।


आइतबार अमिरी दिवान (राजप्रासाद कार्यालय)मा आयोजित समारोहमा उनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन।ओहोदाको प्रमाणपत्र पेश गरेपश्चात् अमिरसँगको शिष्टाचार भेटमा राजदूत पौडेलले अमिरको अप्रिल २०२४ मा भएको नेपाल भ्रमणबाट नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुगेको बताए । उनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट अमिरको सुस्वास्थ्यका साथै कतार र कतारी जनताको उत्तरोत्तर प्रगति र समृद्धिको शुभकामना पनि व्यक्त गरे ।


राजदूत पौडेलले आफूलाई न्यानो स्वागत गरेकोमा अमिर र कतार सरकारलाई धन्यवाद व्यक्त गरे । उनले नेपाल र कतारबीचको घनिष्ठ र सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउन आपसी सहयोगका विविध क्षेत्रमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन।


इजरायल र प्यालेस्टाइनबीच युद्धविराम गर्न मध्यस्थताको लागि अमिर र कतार सरकारले खेलेको नेतृत्वदायी भूमिकाप्रति हार्दिक आभार व्यक्त गर्दै राजदूत पौडेलले बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाइका लागि सहजीकरण गरिदिन समेत अनुरोध गरेका छन।


यसैबीच ओहोदाको प्रमाणपत्र बुझ्ने क्रममा अमिरले राजदूत पौडेललाई स्वागत गर्दै कतार राज्यका लागि नेपालको राजदूत नियुक्त भएकोमा बधाई दिंदै विद्यमान द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन राजदूतलाई कतार सरकारले हरसम्भव सहयोग गर्ने बताए ।


अमिरले मध्यपूर्वमा स्थायी शान्तिको लागि कतार निरन्तर प्रयत्नरत रहने प्रतिबद्धता जाहेर गरेका थिए ।  नेपाल भ्रमणबाट अत्यन्त आफू हर्षित भएको बताउँदै उनले नेपालको राष्ट्रपतिप्रति आभार पनि व्यक्त गरेको कतारस्थित नेपाली राजदूतावासबाट जारी विज्ञप्तिमा जनाइएको छ ।