रुपन्देही - जिल्ला अदालत, रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको एकल इजलासले लामिछानेलाई परिवारकै जिम्मा लगाएको स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए। “आज थुनछेक बहस सकिएन। भोलि बिहान १० बजे अदालतमा उपस्थित गराउने गरी रवि लामिछानेलाई परिवार र वकीलको जिम्मा लगाउने आदेश भएको छ,” ज्ञवालीले भने।

इजलासले लामिछानेलाई परिवारकै जिम्मा लगाएपछि हिरासतमा बस्नु परेन। कास्की र काठमाडौंमा भने थुनछेक बहस नसकिंदासम्म उनी प्रहरी हिरासतमा बस्नुपरेको थियो।

जिल्ला अदालतको इजलास नं. ५ मा बिहीबार सरकारी पक्षबाट बहस भएको थियो। जिल्ला सरकारी वकीलको कार्यालय, रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेल लगायतले बहस गरेका थिए।

त्यसपछि सहकारीपीडितका तर्फबाट कानून व्यवसायीले बहस गरेका थिए। जाहेरीवालाका तर्फबाट अझै दुई वकीलले बहस गर्न बाँकी रहेको स्रेस्तेदार ज्ञवालीले बताए।

आजको बहसमा वादी र जाहेरीवालाका तर्फबाट बहस गरेका कानून व्यवसायीले यो मुद्दा न्यायाधीश योगीले हेर्न नमिल्ने जिकिर गरेका थिए। बुधबार बयानपछि परिवारको जिम्मा लगाउने आदेश भइसकेकाले थुनछेक बहसमा न्यायाधीशको पक्षधरता देखिने उनीहरूको तर्क थियो। तर न्यायाधीश योगीले थुनछेक बहसबाट अलग हुन इन्कार गरेका थिए।

त्यसपछि भएको बहसमा सरकारी पक्षका कानून व्यवसायीले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने माग गरेका थिए।अब शुक्रबार बिहान जाहेरीवालाका तर्फबाट कानून व्यवसायीले बहस गर्नेछन्। त्यसपछि लामिछानेका तर्फबाट कानून व्यवसायीको बहस हुनेछ।