काठमाडौं- एकीकृत समाजवादी पार्टी ३३ लाख घाटामा देखिएको छ । सोमबार केन्द्रीय कार्यालयमा प्रतिवेदन सार्वजनिक गर्दै सो पार्टीले गत आर्थिक वर्षमा आम्दानीभन्दा ३३ लाख रुपैयाँ बढी खर्च भएको उल्लेख गरेको हो ।
केन्द्रीय कार्यालयका लेखा प्रमुख खेमराज पौडेलका अनुसार आर्थिक वर्ष ०८०/८१ मा चार करोड २४ लाख ५३ हजार ६९१ रुपैयाँ आम्दानी भएकोमा चार करोड ५७ लाख ४० हजार ८५४ रुपैयाँ खर्च भएको छ ।
जसमा पार्टी सदस्यता, नवीकरण, लेबी, प्रकाशन सामग्री बिक्री–वितरण र शुभचिन्तकहरूको सहयोगलगायतबाट पार्टीले आम्दानी गरेको लेखा प्रतिवेदनमा उल्लेख छ ।
गत आर्थिक वर्षमा मेची–महाकाली जागरण अभियान, पार्टीको दसौँ राष्ट्रिय महाधिवेशन र उपनिर्वाचन एकै वर्ष परेकाले पनि आम्दानीको तुलनामा केन्द्रीय कार्यालयले बढी खर्च गरेको पौडेलको भनाइ छ ।




















