लहान । वर्षौदेखि खानेपानीका लागि लहान नगरपालिका-१६ र १७ का स्थानीयवासी संघर्षरत थिए । त्यो समाधान हुने काम अगाडि बढेको छ ।

आईतवार खानेपानी सञ्चालनका लागि बोरिङ जडान कार्य सुरु भएको छ । मेयर महेश चौधरीले उक्त योजनाको शिलान्यास गरेका छन् । लहान नगरपालिका, वाटर एड, खानेपानी संस्थान र दलित जनकल्याण युवा क्लब सहयोगमा सञ्चालित द विकन परियोजनाबाट ६० लाख भन्दा बढीमा बोरिङ जडान सुरु भएको छ ।
परियोजनाले गरेका सर्वे अनुसार परियोजनाबाट १०४१ घरधुरीमा खानेपानी धारा जडान भएपछि ८३९४ जना स्थानीय लाभान्वित हुनेछ । २ लाख २५ लिटर क्षमताको पानी भण्डारण गर्न ट्याकं बनिसकेको छ । केही पाईपलाईनको काम पनि भएको छ । दुईवटा बोरिङ जडानका लागि बोरहोल गरिएको थियोे ।

नजिकैमै पोखरी हुँदा सुरुमा पानी देखिएको थियो तर, पछि पोखरी सुकेपछि बोरहोल फेल भयो ।
अहिले १ किलोमिटर भन्दा बढी ठाउँ सारेर बोरहोलको काम भईरहेकाे छ । वडा अध्यक्ष गडुलबहादुर जर्घामगरका अनुसार हाम्रो समस्या बुझेर मेयर महेश चौधरीले खानेपानीको काम अगाडि बढाईरहनुभएको छ । उहाँकै पहलले समस्या समाधान हुनेमा हामी विश्वस्त भएको उनले सुनाए ।