सिरहा - पूर्व-पश्चिम राजमार्ग निर्माणमा ढिलासुस्ती गरेको भन्दै सिरहाको मिर्चैयास्थित स्थानीय र व्यापारीहरूले आन्दोलित बनेका छन् ।
मिर्चैया बजारका स्थानीय र व्यापारीहरूले बिहान करिब १० बजेदेखि राजमार्ग अवरुद्ध पारेका हुन् । राजमार्ग निर्माणमा ढिलासुस्ती गर्दा समस्या झेल्नुपरेकाले आन्दोलन गर्नुपरेको स्थानीय व्यापारी अशोक साहले बताए ।
उनका अनुसार निर्माणमा ढिलाइ गरेको र अहिले सडक झन् बिग्रेको राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ । सडकमा पानीसमेत छर्कन आनाकानी गर्दा स्थानीय आजित बनेका छन् ।
सिरहाको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्म ८७ किलोमिटर चार लेन राजमार्ग निर्माणको ठेक्का चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपले लिएको छ । सो ग्रुपले निर्माण कार्य समयमा गर्न नसक्दा पटक पटक म्याद थपिदा पनि लापरबाही गरिरहेको छ ।

















