तिलु शर्मा पौडेल
दोहा, कतार : थारु जातिको आफ्नो पहिचान बोकेको महान् राष्ट्रिय पर्व माघीलाई कतारमा रहेका थारुहरूले भव्य रूपमा मनाउने भएका छन् । कतारमा रहेका थारु समुदायको साझा संस्था थारु कल्याणकारिणी सभा कतार च्याप्टरको आयोजनामा यही आउँदो शुक्रबार कतारको अबुहमरमा रहेको आइडल इन्डियन स्कुलको प्रांगणमा 'माघी पर्व तथा थारु संवत् २६४८' भव्यरूपमा मनाउने भएका हुन् ।
बिहान ११ बजेबाट सुरु हुने कार्यक्रममा कतारमा रहेका थारु समुदाय तथा नेपालीहरुसग माघीसहितको नयाँ वर्ष मनाउन नेपालबाट भर्षटायल गायिका अनु चौधरी, गायक सुनिल चौधरी र नृत्यांगना प्रभा चौधरी कतार आउने भएका छन् । थारु समुदायले माघलाई नयाँ वर्षको रूपमा लिने गरेको छ । पुस २९ गते थारु संवत् २६४७ सकिएर माघ १ गते थारु संवत् २६४८ सुरु हुनु पूर्व नै नयाँ वर्षपनि एकसाथ मनाउने तयारीलाई कतार च्याप्टरले अन्तिम चरणमा पुर्एको च्याप्टरका सभापति हरि बहादुर महतोले बताए ।
कतारमा रहेका दर्जनौं कलाकारसहित तमु समाज कतारको ‘तमु सप्र्ही ल्हो–ल्होसार’ कार्यक्रममा सांगीतिक प्रस्तुति दिन नेपालबाट आएका हास्य कलाकार तथा जादुगर शेरबहादुर गुरुङ र लोक दोहोरी तथा कौडा चुड्का गायिका बबिता गुरुङको समेत उपस्थिति रहने भएको छ । कार्यक्रमलाई भव्य तथा सभ्य रूपमा सफल पार्न कतारवासी थारु तथा नेपालीहरूलाई च्याप्टर कतारले आग्रह गरेको छ । यस पर्वमा धुमरु गीत गाउने, दफ मादल बजाउने र मघौटा गीत गाउँदै विभिन्न नाचहरू नाच्ने गरिन्छ ।

















