काठमाडौं, १७ फागुन ।जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ।

ललितपुर भोलढोकास्थित ज्यापु प्रज्ञा भवनमा यही फागुन १८, १९ र २० गते बिहान ११ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। 

उनले भने बैठकमा गत भदौदेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने छ।

बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय नेताहरूले आआफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरण प्रस्तुत गर्ने कार्यक्रम रहेको जसपा नेपालले जनाएको छ।

यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक कार्ययोजनालगायत एजेन्डामा बैठक केन्द्रित रहने बताइएको छ।

सत्ता पक्षमै रहेको जसपा नेपालले सरकारले ल्याएको भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश स्वीकार गरेको छैन। उसले यो अध्यादेश फिर्ता हुनुपर्ने माग गरिरहेको छ।